सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

महेन्द्र र मध्यपहाडी हाईवेका कारण प्रभावित ऋण पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाइने

महेन्द्र र मध्यपहाडी हाईवेका कारण प्रभावित ऋण पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाइने

काठमाडौं । 

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम व्यवसायहरुमा प्रभावित कर्जा पुनरतालिकीकरण गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संसोधन गर्दै त्यस्तो कर्जामा पुनरसंरचनाको सुविधा समेत दिएको छ । 

कर्जालाई पुनरतालिकीकरण र पुनरसंरचना मध्ये एक वा दुवै गर्न सकिने व्यवस्था गरिएको छ । 

राजमार्ग विस्तार गर्ने नाममा पछिल्लो समय त्यस आसपासका व्यवसाय विस्थापित भइरहेका छन् । त्यस्ता क्षेत्रमा प्रभावित कर्जा पुनरतालिकीकरण र पुनरसंरचना गर्न सकिने भएको हो ।

‘महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ । 

आगामी असार मसान्त भित्र यस्तो कर्जा पुनरतालिकीकरण र पुनरसंरचना गर्न सकिने निर्देशनमा उल्लेख छ । ‘यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ,’ राष्ट्र बैंकले आफ्नो निर्देशनमा तोकिएको शर्तमा भनिएको छ, ‘यसरी पुनरतालिकीकरण र पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।’



सम्वन्धित समाचार