काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले आगामी बैशाख ३ गतेदेखि भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईइएक्स) बाट दैनिक १६ घण्टा मात्रै विद्युत् पाउने भएको छ । हालसम्म प्राधिकरणलाई आईइएक्सबाट ६५४ मेगावाटसम्म विद्युत् २४ घण्टा नै खरिद गर्न पाउने सुविधा छ, जुन अनुमति पत्रको म्याद मंगलबारसम्म मात्रै छ ।
सोमबार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त अनुमति पत्र नवीकरण गर्दै विद्युत् खरिद गर्न पाउने समय भने घटाएको हो । भारतबाट आएको नयाँ अनुमति अनुसार अप्रिल १ देखि १५ (चैत १८ देखि बैशाख २ गतेसम्म) २४ घण्टा नै विद्युत् खरिद गर्न पाइन्छ । तर, अप्रिल १६ देखि जुन ३० तारिख (बैशाख ३ गतेदेखि असार १६ गते) सम्म भने १६ घण्टा मात्रै विद्युत् खरिद गर्न पाउने गरि अनुमति आएको छ ।
त्यसमा पनि अप्रिल १६ देखि ३० तारिखसम्म बिहान २ देखि साँझ ६ बजेसम्म तथा मे र जुनमा बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म विद्युत् खरिद गर्न पाइनेछ । अन्य समयमा भारतबाट विद्युत् आयात गर्न पाइने छैन ।
त्यसपछि जुलाईदेखि अगस्टसम्म भने २४ घण्टा नै विद्युत् आयात गर्न पाउने गरि अनुमति आएको छ । तर, त्यो समयमा प्राधिकरण आफैले भारतीय बजारमा विद्युत् निर्यात सुरु गरिसकेको हुनेछ । सामान्यतः प्राधिकरणले जेठसम्म विद्युत् आयात गर्नुपर्छ । तर, त्यही समयमा १६ घण्टा मात्रै विद्युत् आयात गर्न पाउने गरि अनुमति आएको छ । त्यसले गर्दा बैशाख र जेठमा रातीको समयमा विद्युत् माग व्यवस्थापन गर्न चुनौती हुने देखिन्छ ।
प्राधिकरणका अनुसार यही समय तालिका अन्तरगत रहेर ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारसँग जोडिएको प्रसारण लाइनबाट २२० मेगावाटदेखि ३०० मेगावाटसम्म र उत्तर प्रदेशसँग जोडिएका प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् खरिद गर्न पाइन्छ । तर, यी प्रसारण लाइनबाट ल्याइने बिजुलीको मूल्य भने आईइएक्समै बोलकबोल हुनेछ ।
नेपालमा नदी प्रवाहमा आधारित परियोजना बढी हुँदा बर्खामा नेपालमा उत्पादन धेरै हुन्छ, जुन बेला नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्छ । हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि घट्छ, त्यस बेला प्राधिकरणले भारतको विभिन्न बजारबाट विद्युत् खरिद गर्छ । त्यसमा आईइएक्स पनि एक हो । यसै गरी प्राधिकरणले भारतका विद्युत् व्यापार कम्पनीसँग पिपिए नै गरेर निश्चित अवधिका लागि विद्युत् खरिद गर्दै आएको छ । अहिले पनि भारतको पिटीसी इन्डियासँग पिपिए गरेर प्राधिकरणले १८० मेगावाट विद्युत् आयात गर्दै आएको छ ।