सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

पेट्रोलको १५ रुपैयाँ र डिजेलको १० रुपैयाँले बढाइयो मूल्य, तर सरकारलाई अझै चार अर्ब घाटा

पेट्रोलको १५ रुपैयाँ र डिजेलको १० रुपैयाँले बढाइयो मूल्य, तर सरकारलाई अझै चार अर्ब घाटा

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको प्रति लिटर १५ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर १० रुपैयाँले मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागू हुने गरि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त दर कायम नगरी कम दरमा मूल्य बढाइएको हो । इण्डियन आयल कर्पोरेशनले पेट्रोलमा ३१ र डिजेलमा ५४ रुपैयाँले मूल्य बढाएर नयाँ दर पठाएको थियो । नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित छ । हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा भारतबाट आउने मूल्यको आधारमा यहाँको मूल्य निर्धारण गरिन्छ । त्यो अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य उच्च दरमा बढ्न सक्ने थियो । तर, त्यसले नेपालको अर्थतन्त्रमा पर्ने असरलाई दृष्टिगत गर्दै कम दरमा मूल्य बढाएको निगमको भनाइ छ । 

यसअघि पेट्रोलको मूल्य पहिलो बर्गामा १५४.५० रूपैयाँ, दोस्रो बर्गमा १५६ रुपैयाँ र तेस्रो बर्गमा १५७ रुपैयाँ थियो । अब पहिलो बर्गमा १६९.५० रूपैयाँ, दोस्रो बर्गमा १७१ रूपैयाँ र तेस्रो बर्गमा १७२ रूपैयाँ पर्नेछ । 

यसैगरि डिजेलतर्फ यसअघि पहिलो बर्गमा १३९.५० रूपैयाँ, दोस्रो बर्गमा १४१ रुपैयाँ र तेस्रो बर्गमा १४२ रुपैयाँ मूल्य थियो । अब पहिलो बर्गमा १४९.५० रूपैयाँ, दोस्रो बर्गमा १५१ रूपैयाँ र तेस्रो बर्गमा १५२ रूपैयाँ मूल्य तोकिएको छ । 

निगमका अुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र विरगञ्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्नेछन् । 

मध्यपूर्वी मुलुकमा कायम युद्दले विश्व बजारमा इन्धनको मूल्य बढेको छ । त्यसको असरले नेपालमा पनि यसको मूल्य बढेको हो । 


निगमलाई झण्डै चार अर्ब घाटा 

भारतबाट बढेर आएको भन्दा कम दरमा मूल्य बढाउँदा १५ दिनमै निगमलाई तीन अर्ब ९३ करोड रुप्ैयाँ घाटा हुने देखिएको छ । त्यो घाटा मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने निगमको भनाइ छ । 

‘अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण यस बिषम परिस्थितिले उत्पन्न गरेको समस्या प्रति निगम सबै उपभोक्ता सरोकारवालाहरूसँग सहयोगको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने रणनीति लिने कुरामा सबैलाई विश्वास दिलाउन चाहन्छौं । हालको मूल्य वृद्धि पश्चात पनि नेपाल आयल निगमलाई पाक्षिक एकमुष्ट रुपमा करिब ३ अर्ब ९३ करोड घाटा हुने व्यहोरा समेत जानकारी गराउन चाहन्छौ,’ निगमको विज्ञप्तीमा भनिएको छ । 


यस्तो छ आयाल निगमको विज्ञप्ती



सम्वन्धित समाचार